काठमाडौं — पेट्रोलियम आपूर्तिमा देखिएको असहजता समाधान गर्न सरकारले महत्वपूर्ण निर्णयहरू गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार चैत २३ गतेदेखि लागू हुने गरी अब शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यससँगै कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएअनुसार डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।

यसैगरी, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि स्वीकृत गरिएको छ। साथै, नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।

त्यसैगरी, डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय समेत गरिएको छ।

शिक्षा क्षेत्रतर्फ, आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।