अबको तीन वर्ष टनेल खेतीमै जुट्ने – रामप्रसाद राई गाउँपालिकाको ‘एक घर, एक टनेल’ अभियान

२९ चैत्र २०८१, शनिबार ०२:४६

काठमाडौँ, चैत २९ – भोजपुरको रामप्रसाद राई गाउँपालिकाले ‘एक घर, एक टनेल’ कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत प्रत्येक घरधुरीलाई प्लास्टिक टनेल वितरण गरी आधुनिक तरकारी खेतीतर्फ प्रोत्साहन गरिँदैछ।

गाउँपालिकाको वडा नम्बर ३ बाट सुरु भएको उक्त कार्यक्रम ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’ मार्फत संचालनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत गाउँपालिकाले १० लाख रुपैयाँ र वडाले थप ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरी टनेल वितरण सुरु गरेको वडा अध्यक्ष रामु थापामगरले जानकारी दिए।

कुल लागतको ५० प्रतिशत किसानले बहन गर्ने गरी प्लास्टिक टनेलसहित अन्य कृषि सामग्री – थोपा सिँचाइ, मल्चिङ प्लास्टिक, पाइप, कीरा मार्ने पासो तथा बीउ – प्रदान गरिएको छ। पहिलो चरणमा १२१ जना किसानलाई टनेल वितरण गरिएको छ।

वडाध्यक्ष थापामगरका अनुसार, टनेल प्राप्त गरेका किसानले कम्तीमा तीन वर्षसम्म अनिवार्यरूपमा खेती गर्नुपर्ने सर्त राखिएको छ। गाउँपालिकाको दीर्घकालीन उद्देश्य भनेको यस क्षेत्रलाई तरकारी उत्पादनको ‘हब’ बनाउनु रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।

उनका अनुसार, आधुनिक प्रविधिमैत्री र जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्न यो अभियान थालिएको हो। उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।