x

अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न

९ श्रावण २०८२, बिहीबार ११:३१

टुकी संघ सुनकोशीको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको अधिकार, पहुँच, सहभागिता नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोडदिनु भयो । साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले अपाङगता परिचयपत्रको बर्ग बिभाजनमा नितिगत रुपमा केहि जटिलताहरु सच्याउन पर्नेमा जोड दिनुभयो । उहाँले अरुको सहयोगमा जिवन यापन गर्नुपर्ने दृष्टिबिहिन लगायतलाई क बर्गको परिचयपत्र हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक अष्टकुमार श्रेष्ठ, नगरपालिकाका शाखा प्रमुखहरु, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू, बैंक, वीमा सहकारी संस्था लगायतका वितिय संस्था र अपाङ्गता अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ह्यान्डिक्याप इन्टरनेशनलका अग्निराज शाही, तारानाथ सिग्देलले सहजीकरण गर्नुभएको आयोजक संस्था टुकी संघ सुनकोशीका परियोजना संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभयो । सार्वजनिक तथा नीजि सेवा प्रदायकहरूलाई अपाङ्गता सम्बन्धी कानुनी, नीतिगत व्यवस्था र व्यवहारिक कार्यान्वयनका पक्षमा जागरूक बनाउनु रहेकोमा सहभागीको जोड थियो । टुकी संघ सुनकोशीको आयोजना, ह्यान्डीक्याप इन्टरनेशनलको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा भएको कार्यक्रम संस्थाका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।