काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेनजी युवा पुस्तालाई हिंसात्मक गतिविधि त्यागी संयमता अपनाउन आह्वान गर्नुभएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष गुरुङले यस्ता गतिविधिले सकारात्मक परिवर्तनको आन्दोलनलाई ओझेलमा पार्ने चेतावनी दिनुभएको हो। पछिल्ला दिनमा टिकटकसहितका सामाजिक सञ्जालमा ‘एक्स्पोज झोले’ ट्रेन्डको नाममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने हल्ला फैलिएको थियो। गुरुङको स्टाटस सो हल्ला लक्षित रहेको बुझिएको छ।

यस्तै, शनिबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि आक्रमणको धम्की आइरहेको बेला सरकारले सुरक्षा कमजोर पारेको भन्दै गुनासो गर्नुभएको थियो।

अध्यक्ष गुरुङले युवाहरूको ऊर्जालाई सडक अराजकताभन्दा निर्वाचनमार्फत सकारात्मक परिवर्तन ल्याउन केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।